काठमाडौं । नेपाली मूलका अस्ट्रेलियन उद्यमी तथा सामाजिक अभियन्ता प्रमेज (पीजे) श्रेष्ठ अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाई अवार्ड’ बाट सम्मानित भएका छन्।
अस्ट्रेलिया र नेपालबीच व्यावसायिक, सामाजिक तथा सार्वजनिक सम्बन्ध विस्तारमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो। उनी डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
श्रेष्ठले व्यवसायसँगै अस्ट्रेलियाको सार्वजनिक जीवन र नेपाली समुदायको उत्थानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले अस्ट्रेलियाको संघीय निर्वाचनमा समेत प्रतिस्पर्धा गरेका थिए। साथै, युवा नेपाली मूलका अस्ट्रेलियनहरूलाई सहयोग र प्रोत्साहन गर्ने विभिन्न पहलको सुरुवात गरेका छन्।
एसीयू एलुम्नाई अवार्डले विश्वभर रहेका विश्वविद्यालयका एक लाख ५५ हजारभन्दा बढी पूर्वविद्यार्थीमध्ये विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। ग्लोबल कनेक्सन एलुम्नाई अवार्डले अन्तर्राष्ट्रिय सहकार्य, सांस्कृतिक समझदारी र विश्वव्यापी सम्बन्ध विस्तारमा योगदान पुर्याउने पूर्वविद्यार्थीलाई सम्मान गर्छ।
यस वर्षको अवार्ड घोषणा गर्दै एसीयूका उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लाट्को स्क्रिबिसले प्रतिभा र दृढ संकल्पलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा असाधारण उपलब्धि हासिल गर्न सकिने बताएका छन्।
श्रेष्ठको सामाजिक तथा सामुदायिक योगदानले उनलाई अस्ट्रेलियाको क्यानबेरास्थित गभर्नमेन्ट हाउससम्म पुर्याएको छ। उनलाई १५ अगस्ट २०२४ मा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिन एसीले भेट गरेकी थिइन्।
सन् २०१९ मा श्रेष्ठ तत्कालीन सत्तारूढ लिबरल पार्टीका तर्फबाट अस्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार बनेका थिए। उनी अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। त्यसबेला उनी प्रधानमन्त्री स्कट मरिसनको निर्वाचन टोलीमा समेत आबद्ध थिए।
यसअघि श्रेष्ठ ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड’ को सन् २०२४ संस्करणमा सामुदायिक तथा पैरवी विधातर्फ फाइनलिस्ट बनेका थिए। मेलबर्न विश्वविद्यालयको एसियालिंक र जोन्सन पार्टनर्सको पहलमा प्रदान गरिने उक्त अवार्डको नाम अहिले ‘एसियन अस्ट्रेलियन लिडरसिप अवार्ड’ राखिएको छ। सिड्नीमा आयोजित अवार्ड समारोहमा अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङको समेत उपस्थिति थियो।
सन् २०१६ मा ‘मिस्टर नेपाल ओसिनिया’ को उपाधि जितेका श्रेष्ठले युवा तथा उद्यमीहरूलाई मार्गदर्शन गर्ने, व्यवसायी, सरकारी अधिकारी र सामुदायिक नेतृत्वबीच सहकार्य बढाउने काम गर्दै आएका छन्।
सन् २०२६ मा नेपालमा आएको बाढीका क्रममा पनि श्रेष्ठले प्रभावित क्षेत्रमै पुगेर राहत तथा पुनःस्थापनाका लागि स्रोतसाधन जुटाउन र अस्ट्रेलियामा रहेका नेपाली परिवार तथा सहयोगीहरूसँग समन्वय गर्न भूमिका खेलेका थिए। नेपालमा बाढीपछिको पुनःस्थापनाका लागि स्रोत परिचालन र आर्थिक सहयोग संकलनमा उनको योगदानको अस्ट्रेलियाली सिनेटर एन्ड्र्यु ब्रागले ८ सेप्टेम्बरमा सिनेटमा प्रशंसा गरेका थिए।
त्यस्तै, न्यु साउथ वेल्स राज्यको विधानसभामा सांसद मार्क कउरेले १५ सेप्टेम्बर २०२६ मा नेपाल बाढीसम्बन्धी छलफलका क्रममा श्रेष्ठसहित नेपाली समुदायका अगुवाहरूले अस्ट्रेलिया र नेपालमा गरेको सहयोग तथा सक्रियताको प्रशंसा गरेका थिए।
सन् २०१५ मा एसीयूबाट कमर्स विषयमा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका प्राध्यापक र करिअर टिमले आफ्नो क्षमता पहिचान गर्न तथा भविष्यको दिशा तय गर्न सहयोग गरेको बताएका छन्।
एसीयूको प्रकाशन ‘इम्प्याक्ट’ सँगको कुराकानीमा उनले भनेका छन्, “मैले आफैँमाथि विश्वास गर्नुअघि नै उनीहरूले ममाथि विश्वास गरेका थिए।”