२०८३ मंसिर ४ बिहिबार

जब्दीघाट पुल निर्माणको अन्योल अन्त्य, ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ई आर्थिक    मंगलबार, मंसिर २ २०८३
456
Shares
जब्दीघाट पुल निर्माणको अन्योल अन्त्य, ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । वर्षौंदेखि अलपत्र बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल निर्माणले अब गति लिने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुल निर्माणसम्बन्धी अन्योल अन्त्य गर्दै पुनः ठेक्का सम्झौतामार्फत निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

नेपाल–भारत सीमा मुर्तियादेखि बर्दियाको गुलरिया हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाट पुल निर्माणका लागि २०६८ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो। तर, निर्माण सम्पन्न भई हस्तान्तरण हुनुअघि नै २०७४ सालमा पुल भासिएको थियो।

त्यसपछि रुग्ण बनेको आयोजनाको ठेक्का २०७९ सालमा रद्द गरिएको थियो। ठेक्का रद्द भएपछि पनि स्रोत सुनिश्चितता तथा प्राविधिक समस्यालगायतका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। फलस्वरूप पुल लामो समयदेखि अलपत्र अवस्थामा रहँदै आएको थियो।

मन्त्री लम्सालका अनुसार यसबीचमा पुल निर्माणको माग गर्दै तत्कालीन जनप्रतिनिधिसमेत अनशन बस्नुपर्ने अवस्था आएको थियो। लामो समयदेखि अन्योलमा रहेको आयोजनाको पुनः ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको उनले बताएका छन्।

करिब ६८ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने पुलको नौ महिनाभित्र डिजाइन स्वीकृत गर्ने र त्यसपछि ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

पुल निर्माण सम्पन्न भएपछि बर्दियाको गुलरिया क्षेत्रलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि आवागमन तथा विकास निर्माणमा समस्या झेल्दै आएका स्थानीयका लागि पनि यो आयोजना महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij