काठमाडौं । कर्णाली प्रदेशको महत्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोरको स्तरोन्नति कार्य अघि बढ्ने भएको छ। करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर खण्ड स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण लामो समयदेखि अघि बढ्न नसकेको सडक निर्माण तथा स्तरोन्नतिको काम अब अगाडि बढ्ने जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार स्तरोन्नति कार्यक्रमअन्तर्गत तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ।
मन्त्री लम्सालले कर्णालीका जनताको विकास र समृद्धिसँग जोडिएको यस महत्वपूर्ण सडक आयोजना अघि बढाउनुलाई सरकारको प्रतिबद्धता कार्यान्वयनका रूपमा व्याख्या गरेका छन्।
‘हामीले भनेका थियौँ– कर्णालीका सपना, अब हाम्रो सपना ! प्रतिबद्धताअनुसार कर्णाली करिडोरको स्तरोन्नतिका लागि ३ अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरेका छौँ,’ मन्त्री लम्सालले भने।

उनले कर्णाली प्रदेशको महत्वपूर्ण रणनीतिक सडकका रूपमा रहेको कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै यसबाट क्षेत्रीय यातायात, आवागमन र विकासका गतिविधिमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
४१ किलोमिटर सडक स्तरोन्नति भएपछि कर्णाली करिडोरको दक्षिण खण्डमा यातायात पूर्वाधार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।