२०८३ मंसिर १ सोमबार

दसैँ-तिहार अवधिमा चितवनमा सडक दुर्घटनामा कमी, ट्राफिक कारबाही र राजस्व संकलनमा भने वृद्धि

ई आर्थिक    सोमबार, मंसिर १ २०८३
190
Shares
दसैँ-तिहार अवधिमा चितवनमा सडक दुर्घटनामा कमी, ट्राफिक कारबाही र राजस्व संकलनमा भने वृद्धि

चितवन।  जिल्लामा यस वर्षको दसैँ-तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व संकलनमा वृद्धि भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना संकलन बढेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए। ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्।

कार्यालयका अनुसार सडक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना संकलनमा भने उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए। त्यसबाट नौ लाख २४ हजार ५३१ रूपैयाँ जरिवाना संकलन भएको थियो।

चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ। यसबाट १७ लाख ७२ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ। गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट ३७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट ३० हजार रूपैयाँ संकलन भएको छ।

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लंघन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए।

उहाँले चाडपर्वको समयमा मात्र नभइ अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे। सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उहाँले चालक तथा यात्रुलाई अनुरोध गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij