काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चार गृहभित्र प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे सरकारसँग जवाफ मागेका छन्। पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगो नलाग्ने भन्दै उनले गिरफ्तारीको निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनले केही महिनाअघि सञ्चार गृहअगाडि मोटर राखेर आतंक सिर्जना गरिएको घटनाको स्मरण गराउँदै त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको आरोप लगाए। अहिले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा भने प्रधानमन्त्री कार्यालयले आफू संलग्न नरहेको स्पष्टीकरण दिएको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
‘प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले उल्लेख गरेका छन्।
उनले सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै समयमै प्रतिक्रिया दिनु सकारात्मक भए पनि त्यतिले मात्रै दायित्व पूरा नहुने बताएका छन्। प्रेस स्वतन्त्रता चुनावी घोषणापत्रमा उल्लेख गर्ने विषयमा मात्र सीमित नराखी त्यसको रक्षा गर्ने जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनको भनाइ छ।
शर्माले गैरकानुनी गतिविधि निरन्तर दोहोरिँदा त्यो एउटा घटना मात्र नभई प्रवृत्तिका रूपमा स्थापित हुने खतरा औंल्याएका छन्। सत्तारूढ दलले गैरकानुनी भनेको कार्य नियन्त्रण गर्न सरकार तयार छ कि छैन भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै शर्माले गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित कानुनी प्रक्रिया रहेको बताएका छन्।
संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने गैरकानुनी गतिविधि बन्द गर्न आग्रह गर्दै उनले पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।