२०८३ कार्तिक १७ सोमबार

हिल्सा भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८३
342
Shares
हिल्सा भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

हुम्ला ।  चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व संकलन गरेको छ।

उक्त कार्यालयका प्रमुख रामराज जैसीका अनुसार त्यस आवमा ६ लाख दुई हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी अर्थात् १९ लाख ६ हजार रूपैयाँ संकलन भएको जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा ६ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएमा हालसम्म दुई लाख रूपैयाँ राजस्व संकलन भएको छ। त्यस नाकाबाट आयात सिमेन्ट, छड तथा अन्य विलासिताका सामग्री आयात हुँदा अन्तःशुल्कसमेत उठ्ने गरेको पाइएको छ।

भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजमै रेकर्ड राख्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए। उक्त भन्सार कार्यालयमा भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण कर्मचारीको समेत अभाव रहेको बताइएको छ।

त्यस क्षेत्रमा पुग्ने सडक पहुँचको असहज अवस्था र बारम्बार हुने हिमपातले कर्मचारीलाई स्थायी रुपमा टिकाउन समस्या परेको जानकारी दिइएको छ। त्यहाँ खटिएका कतिपय जनशक्तिलाई भन्सार प्रक्रिया र करसम्बन्धी जानकारी कमीले पनि राजस्व संकलन र भन्सार सेवा व्यवस्थापनमा चुनौती रहेको प्रमुख जैसीले बताए।

हिल्सा नाकामा आवश्यक क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समस्या हुने गरेको छ। त्यस क्षेत्रमा आवश्यक पूर्वाधार र प्राविधिक व्यवस्थापन नहुँदा नाकाबाट सम्भावित व्यापारिक गतिविधिलाई थप विस्तार गर्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ।

पश्चिम नेपालबाट चीनसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइन व्यवस्थापन गर्न सके व्यापारिक गतिविधि विस्तारसँगै राजस्व संकलनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij