२०८३ कार्तिक १७ सोमबार

सुनसरीमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८३
133
Shares
सुनसरीमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

गाँजा बोकेका दुईवटा जिपसहित भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई फेला पारेको थियो। प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका यादव बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने शाह को.१ च ८१८२ नम्बरको जिपका चालक हुन्।

प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर बरामद गाँजा र दुवै सवारीसाधनसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij