२०८३ कार्तिक १७ सोमबार

आकाशे पुलको गर्डर राख्न मलेखु–मुग्लिङ सडक चार घण्टा बन्द गरिँदै

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८३
209
Shares
आकाशे पुलको गर्डर राख्न मलेखु–मुग्लिङ सडक चार घण्टा बन्द गरिँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।

मझिमटारमा निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने कामका लागि मलेखु–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ ।

आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार मझिमटारस्थित आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले सुरक्षाका दृष्टिले सडक बन्द गर्न लागिएको हो ।

सडक बन्द रहने चार घण्टाको अवधिमा मलेखु–मुग्लिङ खण्ड भएर यात्रा गर्ने सवारीसाधन सञ्चालन हुन पाउने छैनन् । यसबाट यात्रामा ढिलाइ हुन सक्ने भएकाले चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।

आयोजनाले सडक बन्द भएको समयमा सवारीसाधनलाई यथास्थानमा रोकी धैर्य गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ । सडक बन्दका कारण यात्रुमा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij