काठमाडौं । अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अग्रिम मतदान गर्ने मतदाताको संख्या ५ करोड ३० लाख नाघेको छ। निर्वाचनको औपचारिक मितिभन्दा दुई दिनअघि नै यति ठूलो संख्यामा मतदाताले मतदान गरेपछि यसपटकको निर्वाचनप्रति अमेरिकी नागरिकको चासो र सहभागिता उच्च देखिएको छ।
फ्लोरिडा विश्वविद्यालयको विश्लेषणलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा २ करोड ९० लाखभन्दा बढी मतदाताले मतदान केन्द्रमै पुगेर र करिब २ करोड ३० लाखले हुलाकमार्फत मत खसालेको उल्लेख छ।
राष्ट्रिय सर्वेक्षणहरूमा पनि डेमोक्र्याटिक पार्टीले रिपब्लिकन पार्टीको तुलनामा बढी समर्थन प्राप्त गरेको देखिएको छ। उपलब्ध सर्वेक्षण विवरणअनुसार डेमोक्र्याटिक पार्टीको समर्थन ५१.५ प्रतिशत र सत्तारूढ रिपब्लिकन पार्टीको समर्थन ४३.१ प्रतिशत रहेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक तथा विदेश नीतिलाई यस निर्वाचनमा प्रमुख मुद्दाका रूपमा हेरिएको छ। विशेषगरी आयातमा लगाइएको शुल्क (ट्यारिफ) नीति र इरानसँगको युद्धका कारण बढेको जीवनयापन खर्चले मतदाताको असन्तुष्टि बढाएको विश्लेषण गरिएको छ। यी विषयले रिपब्लिकन पार्टीको चुनावी समर्थनमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
अग्रिम मतदानमा पार्टीगत सहभागिताको अन्तर पनि चर्चामा छ। उपलब्ध तथ्यांकअनुसार १ करोड १० लाखभन्दा बढी दर्ता भएका डेमोक्र्याट मतदाताले अग्रिम मतदान गरिसकेका छन् भने रिपब्लिकन मतदाताको संख्या करिब ८० लाख रहेको छ।
टेक्सास, मिसिगन र साउथ क्यारोलाइनाजस्ता राज्यमा अग्रिम मतदानप्रति उल्लेख्य आकर्षण देखिएको विवरणमा उल्लेख छ। ती राज्यको मतदान सहभागिताले निर्वाचनको अन्तिम परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रभाव, राजनीतिक ध्रुवीकरण र नीतिगत परिवर्तनको अपेक्षाले पनि मतदातालाई मतदान प्रक्रियामा सक्रिय बनाएको विश्लेषण गरिएको छ। अब निर्वाचनको औपचारिक दिनमा हुने मतदान र अग्रिम मतगणनाले अमेरिकी संसद्को शक्ति सन्तुलन कस्तो बनाउँछ भन्ने निर्धारण गर्नेछ।