काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘अटम अफर २०८३’ सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेजसहित विभिन्न आकर्षक सुविधा उपलब्ध गराएको हो।
नेपाल टेलिकमका अनुसार नयाँ अफरअन्तर्गत विभिन्न डाटा तथा कम्बो प्याकेजलाई थप आकर्षक बनाइएको छ। अफर २०८३ असोज २६ गतेदेखि लागू भएको हो।
कम्पनीले अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँका प्याकेज उपलब्ध गराएको छ। यी प्याकेजमार्फत क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कुरा गर्न सकिनेछ।
उक्त प्याकेजहरूको अवधि क्रमशः १ दिन, ३ दिन, ७ दिन, ३० दिन र ३० दिन रहने कम्पनीले जनाएको छ।
६९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ३० जीबी डाटा
नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड’ योजनाअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनको प्याकेज उपलब्ध गराएको छ। यस प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।
त्यस्तै, १ हजार ४९९ रुपैयाँको ३० दिने प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले पनि मासिक रेन्टल चार्जमा विभिन्न प्रकारका भ्वाइस, डाटा तथा कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन्। कम्पनीले पोस्टपेड ग्राहकका लागि अन्य आकर्षक सुविधा पनि उपलब्ध गराएको जनाएको छ।
यसका अतिरिक्त बन्डल्ड प्याक, एडअन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक तथा एफटीटीएच प्याकेजसमेत अफरअन्तर्गत उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिहरूका लागि छुट्टै प्याकेजको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।
कसरी लिने सेवा?
ग्राहकले आफ्नो मोबाइलबाट १४१५ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।
त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np मार्फत पनि अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र उपलब्ध सेवा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।
नयाँ अफरले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार भ्वाइस, डाटा तथा अन्य सञ्चार सेवा छनोट गर्न सहज हुने कम्पनीको अपेक्षा छ।