काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको दाबी गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले अदालतले आफूविरुद्ध लगाइएका आरोपलाई प्रमाणहीन र निराधार ठहर गरेको बताएकी हुन्।
‘आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन पक्कै कुँडियो, तर मलाई आफ्नो निष्ठा, प्रिय साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा थियो। सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाणबिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ। सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन,’ उनले लेखेकी छन्।
आलोचना गर्नेहरूप्रति पनि गुनासो नरहेको भनाइ
राजनीति र व्यक्तिगत जीवनमा कहिलेकाहीँ अनपेक्षित परीक्षा सामना गर्नुपर्ने उल्लेख गर्दै खड्काले कठिन परिस्थितिमा आफूलाई साथ र विश्वास दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
आलोचना गर्नेहरूप्रति पनि कुनै गुनासो नरहेको बताउँदै उनले यस्ता प्रश्न र परिस्थितिले आफूलाई थप परिपक्व तथा जिम्मेवार बन्न प्रेरित गरेको उल्लेख गरेकी छन्।
‘भ्रम र षड्यन्त्रहरू क्षणिक हुन्, सत्यको उज्यालो सधैँ अजर रहन्छ। यो घटनाले मलाई कमजोर होइन, अझ बलियो बनाएको छ,’ उनले भनेकी छन्।
समर्थकहरूले आफूप्रति देखाएको विश्वासलाई आत्मसात् गर्दै आगामी दिनमा अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने उनको भनाइ छ।
के थियो खड्कामाथिको आरोप ?
वैदेशिक रोजगारीका लागि इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई असोज २३ गते पक्राउ गरेको थियो।
प्रहरीले उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेपछि खड्काले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा अदालतले आफूविरुद्धका आरोप निराधार ठहर गरेको दाबी गरेकी छन्। यद्यपि, अदालतको निर्णयको प्रकृति र आदेशको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन आवश्यक छ।