धादिङ । त्रिशूली नदीको कटानका कारण सडक भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मतसम्भार गरिने भएको छ।
मर्मत कार्यका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले निर्धारित समयमा उक्त खण्ड भएर सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सामान्य मर्मत गरी दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो। तर, सडकलाई थप सुरक्षित बनाउन पुनः मर्मतसम्भार गर्नुपर्ने भएपछि रातिको समयमा यातायात बन्द गरेर काम गर्न लागिएको हो।
सडक बन्द हुने अवधिमा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई समय व्यवस्थापन गरी यात्रा गर्न र सम्बन्धित निकायको सूचनाअनुसार आवागमन गर्न आग्रह गरिएको छ।
मर्मत कार्य सम्पन्न भएपछि भोलि बिहान ५ बजेदेखि सवारी आवागमन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।