काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित उदय जंग राणाले आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
राणाले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्पका रूपमा लिएका छन्।
लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै राणाले उनीहरूका विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्।
नेपाली कांग्रेसको सुन्दरता नै प्रतिस्पर्धामा फरक–फरक विचार भए पनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता रहनु भएको उल्लेख गर्दै उनले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशको अन्त्य ‘जय नेपाल’ भन्दै गरेका छन्।