काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन्।
गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि भारत प्रस्थान गरेका हुन्। उनको यो कार्यभार सम्हालेपछिको पहिलो औपचारिक विदेश भ्रमण हो। उनी अक्टोबर १३ अर्थात् मंगलबार नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ। उनी अक्टोबर १४ मा स्वदेश फर्कने तालिका रहेको छ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक हुन लागेको हो। बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य राष्ट्रका रूपमा सहभागी छन्। यद्यपि, पछिल्लो विवरणअनुसार बङ्गलादेशका गृहमन्त्री बैठकमा सहभागी नहुने र त्यहाँका वरिष्ठ अधिकारीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।

बैठकमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने, कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय बढाउने तथा सीमापार अपराध नियन्त्रणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। आतंकवाद, मानव बेचबिखन, लागूऔषध तस्करी, संगठित अपराध तथा सुरक्षा निकायबीच सूचना आदानप्रदानजस्ता विषय बैठकका प्रमुख एजेन्डामा रहनेछन्।
बैठकअघि सदस्य राष्ट्रका गृहसचिव तथा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको बैठकसमेत हुनेछ। उक्त बैठकमा उठाइएका विषय र प्रस्तावलाई गृहमन्त्रीस्तरीय छलफलमा अघि बढाइनेछ।
भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता हुने
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटवार्तामा दुई देशबीचको सुरक्षा सहकार्य, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयन गर्ने निकायबीचको समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने हालसम्म तय भएको छैन।
क्षेत्रीय सुरक्षा सहकार्यमा बिमस्टेकको जोड
बिमस्टेक सदस्य राष्ट्रहरूबीच सुरक्षा सहकार्य विस्तार गर्ने विषय लामो समयदेखि क्षेत्रीय एजेन्डाका रूपमा रहँदै आएको छ। सन् २०१८ मा काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन गर्ने निकाय, गुप्तचर संस्था तथा सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसै क्रममा आतंकवाद तथा सीमापार अपराध नियन्त्रणका लागि गृहमन्त्रीस्तरीय बैठक र राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठकलाई निरन्तरता दिने निर्णय गरिएको थियो।
यसै वर्ष जुलाईमा नयाँदिल्लीमा सम्पन्न बिमस्टेक राष्ट्रिय सुरक्षा प्रमुखहरूको पाँचौँ बैठकमा पनि आतंकवाद तथा संगठित अपराध नियन्त्रण, साइबर सुरक्षा, समुद्री सुरक्षा, ऊर्जा सुरक्षा र विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
गृहमन्त्री गुरुङको भारत भ्रमणलाई नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरूबीच सुरक्षा सम्बन्धी साझा चुनौतीमा छलफल गर्ने तथा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।