कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्थी राजपाक्षे पक्राउ परेकी छन्। बाल अस्पतालका लागि चन्दा उठाएर दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाली आयोगले बुधबार उनलाई पक्राउ गरेको हो।
७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरी थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ। आयोगका एक अधिकारीका अनुसार उनको पक्राउ ‘सिरिलिया साविया फाउन्डेसन’सँग सम्बन्धित आर्थिक अनियमितताको अनुसन्धानका क्रममा भएको हो।
अस्पतालका लागि उठाइएको एक करोड रुपैयाँ दुरुपयोगको आरोप
अनुसन्धानकर्ताहरूका अनुसार उक्त संस्थाले बाल अस्पतालका लागि पोजिट्रोन एमिसन टोमोग्राफी (पीईटी) स्क्यानर खरिद गर्ने भन्दै करिब एक करोड श्रीलंकाली रुपैयाँ चन्दा संकलन गरेको थियो।
तर, चीन सरकारले सो अस्पताललाई पीईटी स्क्यानर यसअघि नै दान गरिसकेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ। त्यसपछि पनि स्क्यानर खरिदका नाममा चन्दा उठाइएको र उक्त रकम दुरुपयोग गरिएको आरोप शिरन्थीमाथि लगाइएको छ।
शिरन्थीका वकिल मनोज गमागेले भने उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको बताएका छन्। उनका अनुसार शिरन्थीले चन्दाको रकम दुरुपयोग नगरेको भन्दै अदालतमा आरोपको सामना गर्नेछिन्।
अब अदालतले उनलाई जमानतमा रिहा गर्ने वा हिरासतमा राख्ने भन्ने विषयमा निर्णय गर्नेछ।
राष्ट्रिय बचत बैंकका तत्कालीन अध्यक्ष पनि पक्राउ
यही प्रकरणमा सरकारी स्वामित्वको राष्ट्रिय बचत बैंकका तत्कालीन अध्यक्ष प्रदीप करियावासमसमेत पक्राउ परेका छन्।
उनमाथि उचित वित्तीय प्रक्रिया पूरा नगरी राजपाक्षे परिवारसँग सम्बन्धित परोपकारी संस्थालाई एक करोड श्रीलंकाली रुपैयाँ सार्वजनिक रकम उपलब्ध गराएको आरोप लागेको छ।
सिंगापुरबाट फर्किएपछि पक्राउ
शिरन्थी गत सेप्टेम्बर १६ मा उपचारका लागि सिंगापुर गएकी थिइन्। सोही क्रममा उनलाई चन्दा संकलनसम्बन्धी विषयमा बयान दिन कोलम्बो विमानस्थलमा उपस्थित हुन प्रहरीले बोलाएको थियो।
पक्राउ रोक्न अदालतमा निवेदन दिएपछि उनी सोमबार श्रीलंका फर्किएकी थिइन्। यद्यपि, उनको अग्रिम जमानतसम्बन्धी सुनुवाइ अक्टोबर १२ का लागि तोकिएको छ।
राजपाक्षे परिवारमाथि पुनः भ्रष्टाचार अनुसन्धान
शिरन्थी श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेकी पत्नी हुन्। राजपाक्षे परिवार लामो समयसम्म श्रीलंकाको राजनीतिमा प्रभावशाली रहँदै आएको थियो।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेतृत्वमा रहेको सरकारले राजपाक्षे परिवारका सदस्यसँग जोडिएका पुराना भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई पुनः अघि बढाइरहेको छ।
यसअघि शिरन्थीका छोरा तथा विपक्षी सांसद नमल राजपाक्षे पनि सन् २०१३ को एयरबस विमान सम्झौतासँग सम्बन्धित आरोपमा हिरासतमा छन्।
राजपाक्षे परिवारले आफूहरूमाथि लगाइएका भ्रष्टाचारसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ। परिवारका सदस्यहरूले आफूहरूमाथि चलाइएका अनुसन्धान तथा मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको दाबी गर्दै आएका छन्।