२०८३ असोज १७ शनिबार

विद्युत् दुर्घटनामा घाइते तामाङलाई प्राधिकरणले १७ लाख ७८ हजार दिने

ई आर्थिक    शुक्रबार, असोज १६ २०८३
779
Shares
विद्युत् दुर्घटनामा घाइते तामाङलाई प्राधिकरणले १७ लाख ७८ हजार दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते २७ वर्षीय तामाङलाई उपचार खर्च, कुरुवा खर्च तथा अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।

तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो।

प्राधिकरणका अनुसार तामाङको उपचारमा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको छ। त्यस्तै, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुर्घटनाबाट पूर्ण स्थायी अशक्तता तथा अंगभंग भएको अवस्थामा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार तामाङलाई पूर्ण अंगभंगबापत १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो।

यसअघि प्राधिकरणले तामाङलाई ५ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको थियो। अब उक्त पेश्की रकम कटाएर बाँकी उपचार खर्च, कुरुवा खर्च तथा दुर्घटना क्षतिपूर्तिसहित कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराइनेछ।

तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायत कागजात प्राधिकरण मेडिकल बोर्डले अध्ययन गरेको थियो। विशेषज्ञ चिकित्सकसहितको बोर्डले उपचारमा लागेको खर्चमध्ये पेश्की कटाएर बाँकी रकम तथा दुर्घटना क्षतिपूर्ति भुक्तानी गर्न सिफारिस गरेको थियो।

विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ। तर २ लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचार खर्चसम्बन्धी कागजात बोर्डले अध्ययन गरी सिफारिस गरेको हो।

प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था विनियमावलीमा छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था पनि रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij