२०८३ असोज १७ शनिबार

शिक्षा प्रमाणपत्रमा मात्र सीमित नभई जिम्मेवार नागरिक निर्माण गर्ने हुनुपर्छ : राष्ट्रपति पौडेल

ई आर्थिक    शनिबार, असोज १७ २०८३
171
Shares
शिक्षा प्रमाणपत्रमा मात्र सीमित नभई जिम्मेवार नागरिक निर्माण गर्ने हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा केवल परीक्षामा राम्रो नतिजा हासिल गर्ने वा प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नभई व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने खालको हुनुपर्ने बताउनुभएको छ।

शनिबार ललितपुरमा आयोजित सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सहयोग गर्नुपर्ने बताउनुभएको हो।

उहाँले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध मुलुक भएकाले नेपालको शैक्षिक प्रणालीले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा **राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना** विकास गर्नुपर्नेमा जोड दिनुभयो।

समय परिवर्तनशील रहे पनि परिवर्तनसँगै आधारभूत मानवीय मूल्यहरूलाई अझ सुदृढ बनाउनुपर्ने उहाँको भनाइ थियो। आधुनिक सूचना प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा भविष्यमा कस्तो राष्ट्र निर्माण गर्ने र कस्तो जनशक्ति आवश्यक पर्ने भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीबाटै खोजिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो।

उहाँले प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा तथा सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुग्ने गरी स्वदेशमै उत्पादन तथा रोजगारीको वातावरण सिर्जना गर्न सक्ने जनशक्ति तयार पार्ने शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले यस्तो शिक्षामार्फत नागरिकमा देशप्रतिको जिम्मेवारी र देशभक्तिको भावना अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

७५औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा पनि विद्यार्थीको ज्ञान, सीप र व्यक्तित्व विकाससँगै जिम्मेवार नागरिक निर्माणमा शैक्षिक संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij