२०८३ असोज १७ शनिबार

अमेरिकी अर्बपति एलन मस्कसँगको सम्बन्ध टुंगिएको शिवोन जिलिसको घोषणा

ई आर्थिक    शनिबार, असोज १७ २०८३
209
Shares
अमेरिकी अर्बपति एलन मस्कसँगको सम्बन्ध टुंगिएको शिवोन जिलिसको घोषणा

‘प्रेममा रहेको अवस्थाबाट एक सातामै छुट्टिन गाह्रो हुन्छ, तर कहिलेकाहीँ यस्तै हुन्छ’

काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कसँग लामो समयदेखि सम्बन्धमा रहेकी शिवोन जिलिसले आफूहरूको सम्बन्ध टुंगिएको घोषणा गरेकी छन्।

मस्कसँग चार सन्तान रहेकी जिलिसले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत लामो पोस्ट गर्दै सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन्। उनले सम्बन्ध अचानक टुंगिएको संकेत गर्दै प्रेममा रहेको अवस्थाबाट छोटो समयमै अलग हुनुपर्दा आफूलाई कठिन भएको बताएकी छन्।

‘प्रेममा रहेको अवस्थाबाट एक सातामै बिना कुनै चेतावनी छुट्टिन गाह्रो हुन्छ, तर कहिलेकाहीँ यस्तै हुन्छ,’ जिलिसले लेखेकी छन्।

जिलिसले मस्कसँग बिताएको समय र परिवारप्रति आफू खुसी रहेको उल्लेख गरेकी छन्। चार सन्तान पाउनु आफ्नो जीवनको ठूलो खुसी भएको बताउँदै उनले मस्कलाई शान्त र मायालु वातावरण दिन सकेकोमा आफू सन्तुष्ट रहेको जनाएकी छन्।

‘म दुःखी छु, तर एलनको धेरै ख्याल गर्छु र सधैँ उनको खुसीमा म पनि खुसी हुनेछु। म उनलाई धेरै सम्झनेछु,’ उनले लेखेकी छन्।

सम्बन्ध टुंगिए पनि आगामी दिनमा आफू र मस्क असल साथी तथा सह-अभिभावकका रूपमा अघि बढ्न सक्ने आशा जिलिसले व्यक्त गरेकी छन्।

जिलिस र मस्कका चार सन्तान छन्। उनीहरूका जुम्ल्याहा सन्तान सन् २०२१ मा जन्मिएका थिए भने तेस्रो सन्तान सन् २०२४ र चौथो सन्तान सन् २०२५ मा जन्मिएका हुन्।

जिलिस हाल मस्कको मस्तिष्क–कम्प्युटर प्रविधि कम्पनी न्यूरालिंकमा कार्यरत छिन्। यसअघि उनले मस्ककै विद्युतीय कार निर्माता कम्पनी टेस्लामा समेत काम गरेकी थिइन्। उनी र मस्कबीचको सम्बन्ध लामो समयसम्म सार्वजनिक रूपमा खासै चर्चामा आएको थिएन।

सम्बन्ध टुंगिएको घोषणा गर्दै जिलिसले सेप्टेम्बर २४ मा मस्कसँग भएको टेक्स्ट सन्देशको स्क्रिनसटसमेत सार्वजनिक गरेकी छन्। उक्त सन्देशमा जिलिसले मस्कलाई ‘तपाईंलाई ब्रेकफास्टमा देख्न पाउनु निकै राम्रो भयो। तपाईंलाई धेरै माया गर्छु’ भनेकी थिइन्। जवाफमा मस्कले पनि ‘तिमीलाई पनि धेरै माया गर्छु’ लेखेका थिए।

यसै वर्ष भएको ओपनएआईसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जिलिसले मस्कसँगको आफ्नो सम्बन्धबारे समेत बयान दिएकी थिइन्।

यता, सम्बन्ध टुंगिएको घोषणाबारे मस्कले भने हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij