काठमाडौं । भोटेकोशी–रसुवा बाढीमा परी एक भन्सार कर्मचारीको मृत्यु भएको तथा १४ जना अझै बेपत्ता रहेको घटनामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पीडित परिवारलाई शिक्षा, भरणपोषण र रोजगारीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा रसुवा भन्सार कार्यालयमा कार्यरत कर्मचारीका परिवारसँग सामूहिक भेट गर्दै मन्त्री वाग्लेले दुःखको घडीमा पीडित परिवारलाई सरकार र अर्थ मन्त्रालय एक्लै नछाड्ने बताए।
उनले बाढीमा परी भन्सार प्रशासनका दक्ष कर्मचारी गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे। परिवारका सदस्यलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरू एक्लो हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौँ।’
मन्त्री वाग्लेले पीडित परिवारका समस्या र आवश्यकताबारे मन्त्रालय तथा विभागमा खुलस्त रूपमा जानकारी गराउन आग्रह गर्दै कानुनी आधारमा पूरा गर्न सकिने मागलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए। परिवारका सदस्यहरूले बुझाएको प्राथमिक मागपत्र पनि उनले ग्रहण गरेका थिए।
दिवंगत तथा बेपत्ता कर्मचारीका परिवारका सदस्यको शिक्षा, भरणपोषण र रोजगारीलाई उच्च प्राथमिकता दिइने मन्त्री वाग्लेले बताए। कानुनअनुसार तत्काल पूरा गर्न सकिने माग छिट्टै कार्यान्वयन गर्ने तथा कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ छ।
घटना दर्ता, बालबालिकाका लागि छात्रवृत्तिलगायतका विषयमा समेत मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले जानकारी दिए।
बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको भन्दै मन्त्री वाग्लेले पीडित परिवारलाई आवश्यक सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन समेत दिएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए।
उनीहरूमध्ये भन्सार अधिकृत नकुल शर्माको शव फेला परी अन्तिम संस्कार भइसकेको छ भने बाँकी १४ जना अझै बेपत्ता छन्