काठमाडौं । नेपाल–चीनबीचको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको तातोपानी नाकालाई थप सहज र प्रभावकारी ढङ्गले सञ्चालन गर्न नेपाल सरकारको उच्चस्तरीय टोलीले सीमा क्षेत्रमा स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ।
परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै नाका सञ्चालनका क्रममा देखिएका समस्या, सीमा क्षेत्रको अवस्था तथा नाकासम्म जोडिने सडकको अवस्थाबारे ध्यानाकर्षण गराएको हो।
अनुगमन टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका साथै पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र सडक डिभिजन चरीकोटका अधिकारी सहभागी थिए। टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय तथा प्रशासनका प्रतिनिधिसँग समन्वय गरी नाकाको पछिल्लो अवस्था र सञ्चालनमा देखिएका व्यावहारिक कठिनाइबारे जानकारी लिएको थियो।
स्थलगत निरीक्षणका क्रममा तातोपानी नाकासम्म पुग्ने राजमार्गको भौतिक अवस्था, सडक सञ्चालनमा देखिएका प्राविधिक समस्या तथा पूर्वाधारका चुनौतीबारे विस्तृत अध्ययन गरिएको थियो। सडकको कमजोर अवस्थाका कारण भविष्यमा नाका सञ्चालन तथा आपूर्ति प्रणालीमा दीर्घकालीन असर पर्न नदिन तत्काल सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले सीमा नाकालाई थप गतिशील बनाउन आवश्यक पूर्वाधार सुधारमा चिनियाँ पक्षसँग सहकार्य गर्न आग्रह गरेको थियो। साथै, दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सहज बनाउन नाका सञ्चालनमा देखिएका व्यावहारिक समस्या समाधान गर्न पनि आग्रह गरिएको थियो।
सीमा क्षेत्रको सडक मर्मत तथा सुधारको काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका जटिलता समाधानका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको जनाइएको छ। स्थानीय प्रशासनले पनि सीमा क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
तातोपानी नाका लामो समयदेखि विभिन्न पूर्वाधार तथा सञ्चालनसम्बन्धी समस्याका कारण अपेक्षित क्षमतामा सञ्चालन हुन सकेको छैन। पछिल्लो उच्चस्तरीय अनुगमन र सुधारका लागि भएको पहलले नाकालाई थप व्यवस्थित गर्दै नेपाल–चीनबीचको व्यापार तथा आपूर्ति प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।