२०८३ असोज १३ मंगलबार

मुस्ताङमा ३६ घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध

ई आर्थिक    सोमबार, असोज १२ २०८३
361
Shares
मुस्ताङमा ३६ घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ।  मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभीए विद्युत् प्रसारणलाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारणलाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए। बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सबस्टेसनसमेत चार्ज हुन नसक्दा बन्द भएको उनको भनाइ छ।

बाढीले विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भएसँगै म्याग्दीको उत्तरखण्डको अवस्थाको जानकारी लिन थप समस्या भइरहेको कार्यालय प्रमुख थकालीले बताए। यसैबीच बाढीले विद्युत् र इन्टरनेट सेवामा क्षति पुर्‍याए पनि आइतबार साँझ म्याग्दीको बेनीसम्म विद्युत् प्रसारणलाइन मर्मत गरी सञ्चालनमा आइसकेको छ। ३३ केभीए प्रसारणलाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट एक टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रमुख थकालीले उल्लेख गरे।

यसैगरी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित केही स्थानमा रुख ढलेर विद्युतका खम्बामा क्षति पुगेको भन्दै अहिले मौसम खुलेकाले उक्त स्थानमा विद्युत् प्रसारणलाइनको मर्मत गर्न प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रमुख थकालीले बताए। बाढीपहिरोका कारण अवरुद्ध सेवा सञ्चालन गर्न निरन्तर पहल भइरहेको जनाउँदै आज साँझसम्म सेवा नियमित हुने गरी प्राविधिक टोली कार्यस्थलमा खटिएका उनले बताए।

वर्षासँगैको बाढीपहिरो र नदी कटान गरेकाले विद्युत्सँगै फाइबर इन्टरनेट प्रसारणलाइनमा क्षति पुगेकाले पछिल्लो ३६ घण्टादेखि मुस्ताङमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ। पर्वत र म्याग्दी खण्डका दर्जनौँ स्थानमा फाइबर नेटका संरचनामा क्षति पुगेकाले इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलले जानकारी दिए।

अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म सेवा सहज भइसकेको जनाउँदै उनले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा अझै सञ्चालन हुन नसकेको बताए। म्याग्दीको बैसरी, थासाङको लेतेलगायत स्थानमा फाइबर नेटको प्रसारणलाइन मर्मत कार्य भइरहेको उनले जानकारी दिए।

प्रमुख भुजेलका अनुसार अप्टिकल फाइबर नेट सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको जिपिएस रेडियो लिंकबाट टेलिफोन तथा फोरजी सेवा चलिरहेको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि माथि कोरलानाकासम्म सोलार प्रविधिबाट रेडियो लिंक सञ्चालन भएकाले टेलिफोन र फोर सेवा चलाउन सकिने अवस्था रहेको उनको भनाइ छ।

अवरुद्ध अप्टिकल फाइबर नेट सेवा छिटोभन्दा छिटो सञ्चालन गर्न प्राविधिक टोली जुटिरहेकाले आज साँझसम्म सेवा नियमित रूपमा सञ्चालन हुनसक्ने कार्यालय प्रमुख भुजेलले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij