२०८३ भाद्र १७ बुधबार

त्रिशूलीमा पुल बगेपछि पाँच स्थानमा तुइन निर्माण, आज मंगलबारदेखि सञ्चालनको तयारी

ई आर्थिक    मंगलबार, भाद्र १६ २०८३
342
Shares
त्रिशूलीमा पुल बगेपछि पाँच स्थानमा तुइन निर्माण, आज मंगलबारदेखि सञ्चालनको तयारी

नुवाकोट : त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा समेत क्षति पुर्‍याएपछि नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्न विभिन्न स्थानमा तुइन निर्माण सुरु गरिएको छ।

बाढीका कारण विदुरसहित रसुवासम्मको सडक यातायात यही भदौ १० गतेदेखि अवरुद्ध छ। सडक सम्पर्क विच्छेद हुँदा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएपछि तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको हो।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार अस्पतालका लागि औषधि तथा अन्य अत्यावश्यक सामग्री ल्याउन विदुर–१ इन्द्रायणी चौरदेखि विदुर–१ गुम्बा जोड्ने तुइन निर्माण भइरहेको छ। करिब ३०० मिटर लामो उक्त तुइन निर्माण अन्तिम चरणमा पुगेको र मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

यस्तै, बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि विदुरसँग बेलकोटगढी नगरपालिकाको सम्पर्क स्थापित गर्न अर्को तुइन निर्माण गरिने भएको छ। पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार उक्त स्थानमा मंगलबार बिहानदेखि निर्माण सुरु गरी छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

१८ वटा पक्की पुलमा क्षति

त्रिशूली नदीमा आएको बाढीले नुवाकोट र रसुवाका गरी १८ वटा पक्की पुलमा क्षति पुर्‍याएको छ। केही क्षेत्रमा घुमाउरो सडकबाट पुग्न सकिने भए पनि नुवाकोटको किस्पाङ तथा रसुवाको ठूलोगाउँ, डाँडागाउँलगायत त्रिशूलीपारिका बस्तीमा सडकमार्फत पुग्न नसकिने अवस्था छ।

यस्ता दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका बस्तीमा आवागमन सहज बनाउन तुइन निर्माणलाई तत्कालीन विकल्पका रूपमा अघि बढाइएको हो।

नेपाली सेना, स्थानीय पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा विदुरबाट त्रिशूली नदी पार गर्न पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ। एउटा तुइन निर्माणमा करिब १५ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।

बेलिब्रिज निर्माणका लागि अध्ययन

दीर्घकालीन रूपमा सडक सम्पर्क पुनःस्थापित गर्न बेलिब्रिज निर्माणको तयारीसमेत अघि बढाइएको छ। नेपाली सेनाले विभिन्न स्थानमा बेलिब्रिज निर्माणका लागि प्राविधिक अध्ययन थालेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले केही दिनअघि बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै त्रिशूली नदी वारपारका लागि उपयुक्त स्थानमा तत्काल बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

निर्देशनपछि नेपाली सेनाको प्राविधिक टोलीले बाढीबाट क्षतिग्रस्त ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावती क्षेत्रमा पुल निर्माणका लागि अध्ययन थालेको छ।

तत्कालका लागि तुइनमार्फत आवागमन सहज बनाउने र त्यसपछि बेलिब्रिज तथा स्थायी पुल निर्माणमार्फत अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij