काठमाडौँ । सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार नौ सय रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपियाँ, राप्ती गाउँपालिकाको वडा नंं १ को वडाअध्यक्ष गेमे खड्काविरुद्ध तीन लाख ७१ हजार रुपियाँ, वडा नंं ४ का वडाअध्यक्ष वीर बहादुर चौधरीविरुद्ध एक लाख ४१ हजार २२६ रुपियाँ, अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपियाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९७० रुपियाँ, झविन्द्र प्रसाद भण्डारीविरुद्ध एक लाख ४१ हजार २२६ रुपियाँ र केशर बहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरुविरुद्ध राप्ती गाउँपालिका वडा नं. १ पाखापानीदेखि लमही नगरपालिका वडा नंं ४ अनंहवासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकारभित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रुख हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।