काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८२/८३ मा सरकारको कुल बजेटभन्दा ठूलो रकम रेमिट्यान्सका रूपमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । यस हिसाबले एक वर्षमा भित्रिएको रेमिट्यान्स बजेटभन्दा ३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ बढी हो ।
रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढ्यो
राष्ट्र बैङ्कका अनुसार समीक्षा वर्षमा रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर उच्च रहेकाले नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि अझ बढी देखिएको राष्ट्र बैङ्कले जनाएको छ ।
वार्षिक औसत महँगी घटे पनि असारमा बढ्यो
राष्ट्र बैङ्कका अनुसार २०८३ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत थियो ।
यद्यपि, वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४.०६ प्रतिशत रहेको वार्षिक औसत मुद्रास्फीति २०८२/८३ मा ३.०८ प्रतिशतमा झरेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको मूल्य ३.२८ प्रतिशतले बढेको छ । तरकारी, मरमसला तथा दाल तथा गेडागुडीको मूल्य सूचकाङ्क भने क्रमशः ३.९५, ३.६६ र ३.४१ प्रतिशतले घटेको छ ।
निर्यात १३.८ प्रतिशतले बढ्यो
समीक्षा वर्षमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्यात ८१.८ प्रतिशतले बढेको थियो ।
भारततर्फको निर्यात १५.१ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात १०.१ प्रतिशतले बढेको छ । चीनतर्फ भने निर्यात २८ प्रतिशतले घटेको छ ।
भटमासको तेल, पाम तेल, अलैँची, जुटका सामान र चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी, गलैँचा र हस्तकलालगायत वस्तुको निर्यात घटेको छ ।
आयात १६.२ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष आयात १३.३ प्रतिशतले बढेको थियो ।
भारतबाट हुने आयात १३ प्रतिशत, चीनबाट २४.७ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १७.५ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्स, रासायनिक मल तथा मेसिनरी र पार्ट्सको आयात बढेको छ । खानेतेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, अलकत्रा र एमएस बिलेटलगायत वस्तुको आयात भने घटेको छ ।
व्यापार घाटा १७ खर्ब ८१ अर्ब
निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालको कुल वस्तु व्यापार घाटा थप बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा ६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा कुल वस्तु निर्यात–आयात अनुपात १५ प्रतिशत रहेको छ ।