२०८३ भाद्र १० बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको संसद्को कार्यसूची

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
304
Shares
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको संसद्को कार्यसूची

काठमाडौँ  । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यससँगै सोमबार विभिन्न पाँच संसदीय समितिको बैठकसमेत बस्ने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट विधेयक अघि बढाउने प्रक्रिया र मन्त्रालयगत प्रश्नोत्तर मुख्य एजेन्डाका रूपमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij