२०८३ भाद्र ८ सोमबार

सुनसरी–मोरङ औद्योगिक करिडोरको विद्युत् समस्या स्थायी रूपमा समाधान गर्न उद्योगीको माग

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
627
Shares
सुनसरी–मोरङ औद्योगिक करिडोरको विद्युत् समस्या स्थायी रूपमा समाधान गर्न उद्योगीको माग

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयदेखि देखिँदै आएको अघोषित लोडसेडिङ, न्यून भोल्टेज र बारम्बार हुने ट्रिपिङको समस्या स्थायी रूपमा समाधान गर्न उद्योगीहरूले सरकारसँग माग गरेका छन्।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर विद्युत् समस्या समाधानसहित १५ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमार्फत औद्योगिक करिडोरमा नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए।

उद्योगीहरूले वर्षौंदेखि अलपत्र रहेका बर्जु र केरौन सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न तथा कटहरी औद्योगिक क्षेत्रको प्रसारण क्षमता वृद्धि गर्न माग गरेका छन्।

यस्तै, नयाँ बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा खारेज गर्नुपर्ने माग उद्योगीहरूको छ। स्वदेशी उत्पादनको लागत घटाएर प्रतिस्पर्धी बनाउन डिमान्ड शुल्क घटाउनुपर्ने र वर्षायाममा भारतमा निर्यात गरिने विद्युत्कै सरह सहुलियतपूर्ण दरमा स्वदेशी उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

जलविद्युत् आयोजना निर्माणमा सहज लाइसेन्सको माग

नीतिगत सुधारतर्फ उद्योगीहरूले ५ देखि ५० मेगावाटसम्मका जलविद्युत् आयोजना आन्तरिक खपतका लागि उद्योगहरूले सहज रूपमा निर्माण गर्न पाउने व्यवस्था गर्न सुझाव दिएका छन्।

कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएका सक्षम कम्पनीलाई पुँजीगत क्षमताका आधारमा जलविद्युत् आयोजनाको लाइसेन्स दिनुपर्ने उनीहरूको माग छ। पाँच वर्षभन्दा बढी समयसम्म आयोजना निर्माण नगरी अनुमतिपत्र ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्दै त्यस्ता अनुमतिपत्र खारेज गर्नुपर्ने र पारदर्शी लिलामी प्रणाली लागू गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

उद्योगहरूले आफ्नै ट्रान्सफर्मरको नो–लोड लस परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने तथा विद्युत् कटौती गर्नुअघि उद्योगलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने माग पनि गरेका छन्।

मौसमी महसुल र सहुलियत दरको तयारी

विद्युत्को गुणस्तर सुधारसँगै आर्थिक वर्ष २०७९/८० को बजेटमा उद्योगका लागि गरिएको विद्युत् महसुल छुटसम्बन्धी व्यवस्थालाई निरन्तरता दिन पनि उद्योगीहरूले आग्रह गरेका छन्।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताए। वर्षायाममा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउने उद्देश्यले मौसमी महसुल लागू गर्ने तथा बढी विद्युत् खपत गर्ने उद्योगलाई सहुलियतपूर्ण दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।

मोरङ–सुनसरी क्षेत्रमा निर्माणाधीन नौवटा नयाँ सबस्टेसन सञ्चालनमा आएपछि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने विश्वास पनि मन्त्री श्रेष्ठले दिलाएका छन्।

उद्योग स्थापना गर्नुअघि नै सम्बन्धित क्षेत्रमा उपलब्ध विद्युत् पूर्वाधारबारे जानकारी दिने प्रणाली विकास गर्ने र आन्तरिक विद्युत् खपतमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको प्रतिबद्धता रहेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij