काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ।
केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो।
यस अवधिमा केन्द्रले कार्यालय अनुगमनको संख्या पनि उल्लेख्य रूपमा बढाएको छ। गत चैतदेखि साउनसम्म ९२४ वटा कार्यालयको अनुगमन गरिएको केन्द्रले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३१८ वटा कार्यालयको मात्रै अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ जना गरी कुल ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्।
अघिल्लो वर्षको सोही अवधिमा २ हजार ७७५ जना कर्मचारी कारबाहीमा परेका थिए।
केन्द्रले सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्तिसम्बन्धी गतिविधि भएको जानकारी पाएमा सूचना दिन आग्रह गरेको छ।
त्यसका लागि राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर सूचना टिपाउन सकिनेछ।