२०८३ भाद्र ५ शुक्रबार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घराज रावल नियुक्त

ई आर्थिक    बिहिबार, भाद्र ४ २०८३
494
Shares
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घराज रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घराज रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अछामका रावलले वि.सं. २०६२ माघमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। हाल उनी बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखका रूपमा कार्यरत थिए।

राष्ट्र बैंकमा करिब दुई दशकको अनुभव हासिल गरेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

केन्द्रीय बैंकमा लामो समयदेखि कार्यरत रावल अब मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन्।

नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने कानुनी व्यवस्था छ। यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए।

सरकारले यसअघि एक डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरिसकेको थियो। दोस्रो रिक्त पदमा रावललाई नियुक्त गरिएको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान रहेको छ।

रावलको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदमा नयाँ नियुक्ति भएको छ। बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा लामो अनुभव भएका रावलको नियुक्तिलाई केन्द्रीय बैंकको नेतृत्व संरचनामा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij