२०८३ भाद्र ५ शुक्रबार

राठी ट्रेडिङले भक्तपुरमा अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्यायो

ई आर्थिक    बुधबार, भाद्र ३ २०८३
741
Shares
राठी ट्रेडिङले भक्तपुरमा अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्यायो

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।

कम्पनीले मनोहरास्थित राठी अटो वर्क्सराठी चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको हो। बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका इन्टरनेशनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले दुवै सेवाको औपचारिक शुभारम्भ गरे।

कार्यक्रममा शाङच आरजेडएम अटोका इन्टरनेशनल जनरल म्यानेजर केन सुनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभी उपलब्ध गराउनुका साथै स्पेयर पार्ट्स र सेवा सञ्जाललाई पनि विस्तार गर्दै लैजाने बताए।

राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले सवारी बिक्रीपछि ग्राहकलाई गुणस्तरीय सेवा, आवश्यक स्पेयर पार्ट्स तथा भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउनु कम्पनीको प्रमुख जिम्मेवारी भएको बताए। नयाँ सर्भिस सेन्टर र चार्जिङ नेटवर्क त्यसैको निरन्तरता भएको उनको भनाइ छ।

कम्पनीका सीईओ मनोज खतिवडाले ईभीको बिक्रीसँगै चार्जिङ पूर्वाधारलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए। सोहीअनुसार कम्पनीले देशभर सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको उनले जानकारी दिए।

कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग गट्ठाघरका प्रहरी नायव निरीक्षक बिक्रम बिकले विद्युतीय सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षा तथा ट्राफिक सचेतनाबारे जानकारी दिएका थिए। ईभीमा आधुनिक प्रविधिको प्रयोग धेरै हुने भएकाले चालकहरू थप सचेत हुनुपर्ने उनले बताए।

एकैपटक १२ वटा सवारी चार्ज गर्न सकिने

मनोहरास्थित नयाँ सर्भिस सेन्टरमा सवारी साधनको सर्भिसिङसँगै चार्जिङ र वासिङ सुविधा पनि उपलब्ध छ। सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकका लागि पर्याप्त पार्किङ, बस्ने ठाउँ तथा क्याफेको व्यवस्था गरिएको छ। साथै, वर्कशपमा भइरहेको सर्भिसिङ गतिविधि लाइभ हेर्न सकिने सुविधा पनि राखिएको छ।

सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्स पर्याप्त मात्रामा स्टकमा राखिएको कम्पनीले जनाएको छ। सामान्य पार्ट्स देशका जुनसुकै स्थानमा ४८ घण्टाभित्र तथा अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

काठमाडौंमा ४८० किलोवाट र गैँडाकोटमा ६४० किलोवाट चार्जिङ स्टेसन

राठी ट्रेडिङले काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र गतिका चार्जिङ स्टेसनमध्ये एक हो।

त्यसैगरी नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ। कम्पनीले चालु वर्षभित्रै देशका प्रमुख सहरहरूमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ नेटवर्क विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार भविष्यमा आवश्यक सम्पूर्ण सुविधा सहित ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विस्तार गरिनेछ। यी स्टेसनलाई ‘वान स्टप सोलुसन’का रूपमा विकास गर्ने कम्पनीको योजना छ।

दुई मोडलका आरजेडएम ईभी भ्यान

राठी ट्रेडिङले हाल शाङच मोटर्सद्वारा उत्पादित आरजेडएमका ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।

आरजेडएम ई५ मा ५३.५ किलोवाट आवर क्षमताको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यी ब्याट्रीले क्रमशः ३३० र ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। ६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ करिब ४५ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स

आरजेडएमका ईभी भ्यानमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर सवारी साधनको परीक्षण तथा आवश्यक सुधार गर्दै आएको छ। यही कारण आरजेडएमका सवारी साधन नेपाली ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीको दाबी छ।

आरजेडएमका सवारी साधनमा ब्याट्रीका लागि ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटर र अन्य प्रमुख कम्पोनेन्टमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij