काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को एघार महिना (२०८३ जेठसम्म) मा नेपालको बाह्य क्षेत्र थप सुदृढ बन्दै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ बचतमा रहेको थियो।
अमेरिकी डलरमा चालु खाता बचत ५ अर्ब ५३ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ अर्ब ३७ करोड अमेरिकी डलर रहेको थियो।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ अर्ब ९६ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो।
त्यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ बचतमा रहेको थियो।
अमेरिकी डलरमा शोधनान्तर बचत ६ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३ अर्ब ६२ करोड अमेरिकी डलर रहेको थियो।