काठमाडौं। देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि विभागका अनुसार चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
विभागले सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। जसमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा भने ५९.२८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस आधारमा यस वर्ष रोपाइँको दर करिब १३.५ प्रतिशतले घटेको देखिएको छ।
प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी ६५.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यहाँ कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा रोपाइँ भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत (१ लाख ७९ हजार ६३१ हेक्टर), सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत (८९ हजार ७४२ हेक्टर) र बागमती प्रदेशमा ५७.१ प्रतिशत (६५ हजार ४४६ हेक्टर) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। सुदूरपश्चिमको तथ्यांक भने असार १९ गतेसम्मको मात्रै समावेश गरिएको छ।
कर्णाली प्रदेशमा ४०.५ प्रतिशत अर्थात् १७ हजार ५४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने यस वर्ष रोपाइँ निकै ढिलो भएको देखिएको छ। मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टरमध्ये ३२.८ प्रतिशत अर्थात् १ लाख २६ हजार ४३९ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ।
कृषि विभागका अनुसार गत वर्षको तुलनामा अधिकांश प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ। गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ५७.९ प्रतिशत मात्रै भएको छ। कर्णालीमा गत वर्ष ८३.२३ प्रतिशत पुगेको रोपाइँ यस वर्ष ४०.५ प्रतिशतमा सीमित भएको छ भने बागमतीमा गत वर्ष ७६.३१ प्रतिशत रहेको रोपाइँ यस वर्ष ५७.१ प्रतिशतमा झरेको छ।
विभागले मनसुनको अवस्था, पर्याप्त वर्षा हुन नसक्नु तथा स्थानीय परिस्थितिका कारण केही क्षेत्रमा रोपाइँ प्रभावित भएको जनाएको छ।