काठमाडौं : प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानी भित्र्याउने र कम्पनीको पुँजी संरचना पुनःनिर्धारण गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले संस्थागत लगानीकर्ताको प्रस्ताव स्वीकृत गर्दै पुँजी पुनःसंरचना गर्ने निर्णय गरेको हो।
सभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिलाई संस्थापक समूहअन्तर्गत जगेडामा रहेको सेयरमध्ये प्रतिकित्ता १२५ रुपैयाँका दरले दुई–दुई लाख कित्ता सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै यी दुई संस्थागत लगानीकर्ताबाट कम्पनीमा कुल ५ करोड रुपैयाँ बराबरको लगानी भित्रिने भएको छ।
हाल कम्पनीको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पुँजीको न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको जनाएको छ। विशेष साधारणसभाले आइपिओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारीसमेत दिएको छ।
जनता एग्रोले यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाबाट आइपिओ जारी गर्ने निर्णय गरिसकेको थियो। कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ भने क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्ससँग सम्झौता गरिसकेको जनाएको छ।
विशेष साधारणसभाले कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रचलित व्यवस्था, नियामकीय मापदण्ड र सुशासनका सिद्धान्तअनुसार सञ्चालक समितिमा दुई जना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
‘खेतीदेखि बिक्रेतासम्म’ भन्ने अवधारणासहित स्थापना भएको जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले कृषि तथा वनजन्य उत्पादनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको माग पूरा गर्ने लक्ष्य लिएको छ।
कम्पनीका अध्यक्ष पवनकुमार गोल्याणले आइपिओ निष्कासनसँगै कम्पनीको आगामी यात्रा अझ सुदृढ, पारदर्शी र उत्तरदायी हुने विश्वास व्यक्त गरे। प्राकृतिक स्रोत र मानव क्षमताको प्रभावकारी उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने कम्पनीको उद्देश्य रहेको उनले बताए।
उनका अनुसार कम्पनीले तोकिएको मापदण्डअनुसार बाली तथा फलफूल उत्पादनका लागि किसानसँग करार खेतीको अवधारणा विस्तार गर्नेछ। यसले किसानलाई उत्पादनको सुनिश्चित बजार उपलब्ध गराउनुका साथै लगानीप्रतिको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ।
कम्पनीकी बिजनेस एक्सिलेन्स तथा स्ट्राटेजी प्रमुख अंकिता बगेडियाले जनता एग्रोको लक्ष्य व्यवसाय विस्तारमा मात्र सीमित नरहेको बताइन्। उनका अनुसार किसान, आधुनिक प्रशोधन, जिम्मेवार लगानी र नेपाली ब्रान्डलाई एउटै मूल्य शृङ्खलामा जोडेर स्थानीय उत्पादन प्रवर्द्धन गर्ने, आयातमा निर्भरता घटाउने तथा दिगो आर्थिक वृद्धि हासिल गर्ने कम्पनीको दीर्घकालीन योजना रहेको छ।