काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले ४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा समावेशी, प्रविधिमैत्री र दिगो वित्तीय प्रणाली निर्माणलाई आफ्नो आगामी रणनीतिक प्राथमिकता बनाएको जनाएको हो।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले चार दशकभन्दा बढी समयदेखि बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै नबिलले नेपाली बैंकिङ क्षेत्रमा परिवर्तनको नेतृत्व गर्दै आएको बताए। उनका अनुसार बैंकले निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुआत गर्नुका साथै ‘एनबैंक’ डिजिटल प्लेटफर्ममार्फत ग्राहकको बैंकिङ अनुभवलाई नयाँ स्वरूप दिएको छ।
चौधरीले नबिल अहिले वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङ सेवा एउटै वित्तीय समूहअन्तर्गत उपलब्ध गराउने मुलुकको एकमात्र संस्थाका रूपमा स्थापित भएको दाबी गरे। उनले अबको बैंकिङ कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित हुने उल्लेख गर्दै आगामी दिनमा ‘एनबैंक’लाई एआईमा आधारित स्मार्ट प्लेटफर्मका रूपमा विकास गरिने जानकारी दिए।
उनका अनुसार एआईको प्रयोगबाट कर्जा स्वीकृति प्रक्रिया, जोखिम व्यवस्थापन, ग्राहक सेवा, वित्तीय पहुँच र साइबर सुरक्षा थप प्रभावकारी बन्नेछ। यद्यपि, प्रविधिको विकाससँगै बैंकले मानवीय मूल्य र ग्राहकसँगको सम्बन्धलाई प्राथमिकतामै राख्ने उनको भनाइ थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले १९८४ मा सुरु भएको नबिलको यात्रा लाखौं ग्राहकको विश्वास र कर्मचारीको समर्पणका कारण अहिलेको उचाइमा पुगेको बताए। उनले बैंक केवल वित्तीय कारोबार गर्ने संस्था नभई ग्राहकको सपना, उद्यम र भविष्यसँग जोडिएको साझेदारका रूपमा अघि बढिरहेको उल्लेख गरे।
बैंकले नेपालको आर्थिक विकासलाई टेवा पुर्याउने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको बैंकले जानकारी दिएको छ।
वित्तीय सूचकांकमा पनि बैंकले उल्लेखनीय वृद्धि हासिल गरेको जनाएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने १० लाख रुपैयाँ रहेको खुद नाफा बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यसैगरी, सुरुआती चरणमा १४ करोड ६० लाख रुपैयाँ रहेको निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने १३ करोड ३० लाख रुपैयाँबाट सुरु भएको कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकको विवरणमा उल्लेख छ।
दुई शाखा र १४४ कर्मचारीबाट सेवा सुरु गरेको बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म लागू हुने विभिन्न ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ। हेटौंडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावितका लागि पुनःनिर्माण घर कर्जा योजनाअन्तर्गत आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ।
त्यस्तै, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) सेवा जडान शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा सदस्यता शुल्कमा विशेष छुट तथा वार्षिकोत्सवकै दिन डेबिट कार्ड आवेदन दिने ग्राहकलाई चार वर्षसम्म कार्ड प्रयोग गर्न सकिने सुविधा प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो वित्तीय विकास र ग्राहककेन्द्रित सेवामार्फत नेपालको सबैभन्दा विश्वासिलो र भविष्यका लागि तयार बैंक बन्ने लक्ष्यसहित आफ्नो यात्रा अघि बढाउने प्रतिबद्धता दोहोराएको छ।