२०८३ साउन १० आइतबार

सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु, १५ दिन परीक्षणपछि व्यावसायिक सञ्चालन

ई आर्थिक    बिहिबार, असार २५ २०८३
399
Shares
सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु, १५ दिन परीक्षणपछि व्यावसायिक सञ्चालन

पोखरा : कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक परीक्षणपछि आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा विद्युत् प्रवाह गर्न थालेको हो।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना विसं २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। कम्पनीका निर्देशक दीपक बरालका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणहरूको प्राविधिक परीक्षणसमेत गरिनेछ। परीक्षण सफल भएपछि आयोजनाले नियमित व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्नेछ।

आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणका क्रममा वन क्षेत्रको स्वीकृति प्रक्रिया ढिलो हुँदा सञ्चालनमा आउन केही समय लागेको हो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक अनुमति प्राप्त गर्न ढिलाइ भएको कम्पनीले जनाएको छ।

आयोजनाको बाँध पोखरा–३३ स्थित तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३,१०६ मिटर लामो सुरुङमार्गमार्फत पानी तल्लो पुँडीटारमा रहेको विद्युत्गृहमा पुर्‍याइन्छ। विद्युत्गृहमा ११/११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ।

करिब ५ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना व्यावसायिक सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी पनि गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, सेती नदीमा पछिल्ला वर्षहरूमा जलविद्युत् क्षेत्रमा लगानी बढ्दै गएको छ। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ भने हाल आधा दर्जनभन्दा बढी आयोजना निर्माण तथा प्रारम्भिक तयारीको चरणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij