काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, लगानीको वातावरण सुधार गर्न तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग उच्चस्तरीय संवाद गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने उक्त बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रका समस्या तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ, एफएनसीसीआई उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको सहभागिता रहनेछ।
सरकारले पछिल्लो समय आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको मनोबल सुदृढ पार्ने तथा लगानीमैत्री नीतिगत वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यस संवादलाई अर्थतन्त्र पुनरुत्थानका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।