७ करोड ५१ लाखमा बनेको पुलले गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकालाई जोड्यो, कृषि र स्थानीय व्यापारमा टेवा पुग्ने अपेक्षा
गोरखा । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोलामाथिको मोटरेबल पुल निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएपछि वर्षायाममा आवतजावतमा समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखाले स्याउली बजार–भट्टफाँट–मनकामना सडक खण्डमा उक्त पुल निर्माण सम्पन्न गरेको हो।
कार्यालय प्रमुख सन्तोष अर्यालका अनुसार प्रि–स्ट्रेस्ड टी–बिम प्रविधिबाट निर्माण गरिएको पुल ३० मिटर लामो र ८.४० मिटर चौडा रहेको छ।
पुल निर्माणका लागि २०८२ वैशाख २२ गते सम्झौता गरिएको थियो भने २०८४ वैशाख २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माण कम्पनीले निर्धारित समयभन्दा करिब एक वर्षअघि नै काम पूरा गरेको पूर्वाधार विकास कार्यालय गोरखाका साइट इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो।
करिब १० करोड ३३ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको ठेक्का गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्स प्रालिले ७ करोड ५१ लाख ३० हजार रुपैयाँमा प्राप्त गरेको थियो। निर्माण कम्पनीले समयमै गुणस्तरीय काम सम्पन्न गरेको कार्यालयले जनाएको छ।
पुल समयअघि नै निर्माण सम्पन्न भएपछि शहीद लखन गाउँपालिकाका स्थानीयवासीले निर्माण कम्पनीप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।
स्थानीयका अनुसार अब स्याउली बजार–भट्टफाँट–मनकामना सडकमा बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न सहज हुनेछ। यसबाट शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम गोरखा तथा राजधानी काठमाडौंसम्म आवतजावत गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय किसान ध्रुव अर्यालका अनुसार पुल निर्माणसँगै तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म छिटो र कम लागतमा पुर्याउन सहज हुनेछ। यसले किसानको उत्पादनलाई बजारसँग जोड्न र आम्दानी बढाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीय तहका अनुसार पुल निर्माणले शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्नुका साथै आर्थिक गतिविधि, व्यापार–व्यवसाय र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
वर्षौंदेखिको स्थानीय माग पूरा गर्दै निर्माण सम्पन्न भएको लुदीखोला मोटरेबल पुललाई गोरखाको ग्रामीण पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।