२०८३ साउन ११ सोमबार

वैदेशिक रोजगारीका नाममा लुटधन्दा: ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

ई आर्थिक    आइतबार, असार २१ २०८३
627
Shares
वैदेशिक रोजगारीका नाममा लुटधन्दा: ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

आयरल्यान्ड र युएई पठाइदिने भन्दै कुल ३९ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक जिल्ला, चौरी देउराली गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३८ वर्षीय सरोज पन्त र रामेछाप जिल्ला, लिखु तामाकोसी गाउँपालिका वडा नं. २ घर भई हाल टोखा बस्ने २२ वर्षीय अनिल खत्री रहेका छन्।

अभियुक्त सरोज पन्तले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि आयरल्यान्ड पठाइदिने र त्यहाँ आकर्षक तलब हुने लोभ देखाई १६ लाख रुपैयाँ असुल गरेका थिए। रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले २०८१ असार १९ गते काठमाडौँ महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो।

अर्का अभियुक्त अनिल खत्रीले ६ जना युवालाई युएई पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँका दरले कुल २३ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई प्रहरीले २०८१ असार १८ गते टोखा नगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो।
लामो समयसम्म युवाहरूलाई झुक्क्याएर रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

वैदेशिक रोजगारीको नाममा दिनानुदिन बढ्दै गएको यस्तो ठगी धन्दाप्रति सचेत रहन र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij