काठमाडौं, साउन — स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै वि.सं. २०८२ साल मंसिर मसान्तसम्मका सम्पूर्ण दाबी बक्यौता फर्छ्यौट गरिएको छ।
बोर्डका अनुसार मंसिर महिनापछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ। सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा हुने व्यक्तिगत खर्च घटाई वित्तीय जोखिमबाट संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बोर्डको भनाइ छ।
विज्ञप्तिमा दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा केही अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको स्वीकार गरिएको छ। यद्यपि, बोर्डले यस विषयमा आफू सजग रहेको उल्लेख गर्दै भुक्तानी प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित नागरिकहरूको उपचारमा कुनै अवरोध सिर्जना नगरी निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।
त्यसैगरी, बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सही सदुपयोग गर्न बोर्डले अपिल गरेको छ। अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना, प्रभावकारिता र सेवाको गुणस्तर कायम राख्न सबै सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक रहेको बोर्डले जनाएको छ।