२०८३ साउन ११ सोमबार

कर्णालीमा ‘फ्लोटिङ टर्बाइन’ परीक्षण सुरु, बाँधबिनै १०० किलोवाट विद्युत् उत्पादनको तयारी

ई आर्थिक    बिहिबार, असार १८ २०८३
855
Shares
कर्णालीमा ‘फ्लोटिङ टर्बाइन’ परीक्षण सुरु, बाँधबिनै १०० किलोवाट विद्युत् उत्पादनको तयारी

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा नेपालमै पहिलो पटक नदीको प्राकृतिक बहावबाट तैरिने (फ्लोटिङ) टर्बाइनमार्फत १०० किलोवाट विद्युत् उत्पादन गर्ने प्रविधिको परीक्षण सुरु गरिएको छ। परीक्षण सफल भए नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

नेपाल इनर्जी फाउन्डेसनका दलबहादुर ओलीका अनुसार परियोजनाको अध्ययन आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको हो। हाल परीक्षणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ।

यो परियोजना बेलायतको अक्लेक्स इनर्जी, बुटवल हाइड्रोपावर, नेपाल इनर्जी फाउन्डेसन तथा मोहन्याल गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको छ।

ओलीका अनुसार नदीमा विशेष प्रकारको एयर ब्याग (हावादानी) को सहायताले टर्बाइन जडान गरिनेछ। नदीको प्राकृतिक बहावले टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्नेछ, जसलाई तारमार्फत घर–घरमा वितरण गरिनेछ।

यस प्रविधिको विशेषता भनेको बाँध निर्माण नगरी नदीको प्राकृतिक बहावबाटै विद्युत् उत्पादन गर्न सकिने हो। त्यसैले यो वातावरणमैत्री, कम लागतको र छिटो कार्यान्वयन गर्न सकिने ऊर्जा विकल्पका रूपमा हेरिएको छ।

परियोजनाको परीक्षण सफल भए करिब ५०० घरधुरीले विद्युत् सेवा प्राप्त गर्न सक्ने जनाइएको छ। प्रारम्भिक रूपमा परियोजनालाई दुईदेखि तीन वर्षसम्म परीक्षणका रूपमा सञ्चालन गरिनेछ। त्यसपछि सफल भए परियोजना स्थानीय सरकार र स्थानीय सहकारीलाई हस्तान्तरण गर्ने योजना रहेको ओलीले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपालमा पहिलो पटक प्रयोग हुन लागेको यो प्रविधि सफल भए देशभरका विभिन्न नदीमा पनि सहज रूपमा विद्युत् उत्पादन गर्न सकिनेछ। यसले नेपालको ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात गर्न सक्ने उहाँको विश्वास छ।

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउदले वर्षायाममा कर्णाली नदीको बहाव अत्यधिक बढ्ने र काठलगायतका वस्तु बगेर आउने भएकाले परीक्षणका क्रममा केही चुनौती आउन सक्ने बताउनुभयो। यद्यपि ती चुनौती व्यवस्थापन गर्दै परियोजनालाई सफल बनाउन सबै पक्ष सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले बाँध निर्माण नगरी बगिरहेको नदीबाटै विद्युत् उत्पादन गर्न सकिए नेपालजस्तो नदीजन्य स्रोत सम्पन्न मुलुकका लागि यो ठूलो उपलब्धि हुने र मोहन्याल गाउँपालिकामात्र होइन, समग्र नेपालको ऊर्जा विकासका लागि पनि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij