चिनियाँ ठेकेदार असफल भएपछि निजी क्षेत्रलाई जिम्मा, डेढ वर्षमै २८ किलोमिटर प्रसारण लाइन सञ्चालनको चरणमा
काठमाडौँ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण करिब सात वर्षसम्म अलपत्र परेको मस्र्याङ्दी कोरिडोर अन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन अन्ततः निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणले तनहुँको आँबुखैरनीस्थित न्यु मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्म करिब २८ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
हाललाई प्रसारण लाइनको एक सर्किट मात्र चार्ज गरी परीक्षण सञ्चालन सुरु गरिएको प्राधिकरणले जनाएको छ। परीक्षण सफल भएपछि लाइन नियमित रूपमा सञ्चालनमा ल्याइनेछ।
चिनियाँ कम्पनी असफल, निजी क्षेत्रले सम्हाल्यो जिम्मा
यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप ले २०७४ साल कात्तिकमा पाएको थियो। तर सात वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको जग निर्माण र १० वटा टावर मात्र ठड्याउन सकेको थियो।
निर्माण कार्य अत्यन्त सुस्त भएपछि नेपाल विद्युत् प्राधिकरणले २०८१ मङ्सिर ५ गते उक्त जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो। त्यसपछि मस्र्याङ्दी कोरिडोरका सात जलविद्युत् आयोजनाका प्रवर्धकहरूले भिभा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनी मार्फत निर्माण कार्य अघि बढाएका थिए।
डेढ वर्षमै सम्पन्न
निर्माण कार्यको समन्वय र सहजीकरण स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष तथा दोर्दीखोला जलविद्युत् कम्पनीका सञ्चालक उत्तम ब्लोन लामा नेतृत्वको प्रवर्धक समितिले गरेको थियो। गत वर्षसम्म उल्लेखनीय प्रगति हुन नसकेको आयोजना निजी क्षेत्रको नेतृत्वमा डेढ वर्षभित्रै सम्पन्न भएको हो।
यी जलविद्युत् आयोजनाको लगानी
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रद्वारा प्रवर्धित ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दीखोला–१, २७ मेगावाटको दोर्दीखोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपेखोला र ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत् आयोजनाको लगानी रहेको छ।
स्थानीयलाई सुरक्षा अपनाउन आग्रह
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनमा २२० केभी विद्युत् प्रवाह गरी परीक्षण सुरु भएकाले लाइनमुनि वा तार नजिक नजान, टावर तथा तार नछुन र आवश्यक सुरक्षा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।
राष्ट्रिय प्रसारण प्रणालीका लागि महत्वपूर्ण
मार्कीचोक–भरतपुर प्रसारण लाइन मस्र्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा तिनका सहायक खोलामा निर्माण भएका तथा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। आयोजना सम्पन्न भएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा सहज रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ।