काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिलाई आम नागरिकले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जिम्मेवार र अनुशासित व्यवहार देखाउन आग्रह गरेका छन्।
संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन्। कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति उनले खुलेर असन्तुष्टि व्यक्त गरे।
सभामुख अर्यालले सांसदको मूल्यांकन अब पार्टीका नेता वा सरकारका प्रमुखले मात्र नभई आम जनताले पनि गरिरहेको बताए। उनले समयको पालना, राम्रो व्यवहार, प्रभावकारी प्रस्तुति र गुणस्तरीय कानुन निर्माणमार्फत जनताको विश्वास जित्न सांसदहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।

‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार प्रतिनिधि हौँ। कार्यक्रममा समयमै उपस्थित हुनेदेखि हाम्रा हरेक गतिविधिलाई जनताले नियालिरहेका छन्,’ उनले भने, ‘जनताको मूल्यांकनमा अब्बल बन्न राम्रो कानुन बनाउने, राम्रो व्यवहार देखाउने र उत्कृष्ट प्रस्तुति दिने प्रतिस्पर्धा हुनुपर्छ।’
