काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै सभापति थापाले छोटो अवधिमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै रास्वपाले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गर्नुभएको छ। उहाँले रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताउनुभएको छ।
सभापति थापाले प्रथम महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत दृष्टिले अझ परिपक्व, जिम्मेवार तथा दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभएको छ।
उहाँले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणका लागि पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन ऊर्जा र गति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सभापति थापाले रवि लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै शुभेच्छा व्यक्त गर्नुभएको छ।