२०८३ साउन १२ मंगलबार

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

ई आर्थिक    शुक्रबार, असार ५ २०८३
1.1K
Shares
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले विभिन्न चार अध्यादेशसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ।

बैठकमा सांसद खडकबहादुर बुढाले प्रस्तुत गरेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गरेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाले बहुमतका साथ पारित गरेको छ।

त्यसैगरी सांसद नीता घतानीले राखेको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले अस्वीकृत गरिएको थियो। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ।

सांसद आरेन राईले पेश गरेको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो।

यस्तै सांसद कृपाराम रानाले राखेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गरेको सोही अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतीले पारित गरेको छ।

बैठकले चारवटै अध्यादेशलाई स्वीकृति प्रदान गरेसँगै सम्बन्धित कानुनी व्यवस्थाहरू कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने भएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij