काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले जारी गरेको सूचनाअनुसार खाताबाट कट्टा भएको करको विवरण आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश गर्नुपर्ने भएकाले ग्राहकले आफ्नो प्यान विवरण अद्यावधिक गर्नुपर्ने भएको हो।
बैंकका अनुसार ग्राहकले बैंकको प्यान अद्यावधिक पोर्टल वा एनआईसी एशिया मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा कट्टा गरिएको करलाई विद्युतीय कर कट्टा प्रणाली (ई–टीडीएस) मा अभिलेखीकरण गर्न प्यान अनिवार्य रहेको जनाएको छ। प्यान अद्यावधिक भएपछि कर कट्टासम्बन्धी विवरण स्वतः कर प्रणालीमा समावेश हुने र करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ।
प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा कर विवरण समावेश नभएको अवस्थामा वा त्यसपछि करसम्बन्धी थप समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने पनि सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले भिडियो केवाईसी प्रणाली, मोबाइल बैंकिङ एप वा शाखा कार्यालयमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्।
यसअघि प्यान उपलब्ध गराइसके पनि कर कट्टाको विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सेवा लिन बैंकले अनुरोध गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावल ले ग्राहकलाई यथाशीघ्र प्यान र इमेल विवरण अद्यावधिक गरी बैंकिङ सेवा अझ प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ।