काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा चालु खाता ७२९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २७२ अर्ब ५३ करोड रुपैयाँको बचतभन्दा निकै उच्च हो।
अमेरिकी डलरमा पनि चालु खाताको बचत उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोड अमेरिकी डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोड अमेरिकी डलरले बचतमा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत इक्विटी लगानी १६ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी हो।
त्यस्तै, शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४३८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा बढेर ५ अर्ब ९८ करोड डलरले बचतमा पुगेको छ।
बाह्य क्षेत्रका सूचकहरूमा आएको यो सुधारले विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह तथा बाह्य आर्थिक स्थायित्वलाई थप मजबुत बनाएको संकेत गरेको छ।