काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले आठौँ पटक म्याद थप गरेको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार दुवैलाई थप तीन/तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।
यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि बिमासम्बन्धी कसुर तथा धितोपत्र ऐन उल्लंघनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिसकेको जनाएको छ।
यसैबीच, सीआईबीले उनीहरूमाथि बैंकिङ कसुरसम्बन्धी अनुसन्धान भने अझै जारी राखेको छ।