काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ।
यही जेठ १७ गते आइतबारदेखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले दोस्रो स्थान हासिल गरेको छ।
उक्त प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए। साथै, प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम मिति २०८३/०२/२२ गते शुक्रबार सम्पन्न भएको छ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियो। साथै उपविजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई पनि उपविजेता ट्रफी प्रदान गरिएको थियो।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेटकिपर सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंक लिमिटेडका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्य घोषित भएका छन्। साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले जितेको छ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ का सम्पूर्ण प्रायोजकहरू, सहभागी सम्पूर्ण टिमहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाहरूप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको छ।