महेन्द्रनगर । सडक विभागले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना तत्काल हटाउन आग्रह गरेको छ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय महेन्द्रनगर ले १५ दिने सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाई सार्वजनिक जग्गा खाली गर्न अनुरोध गरेको हो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवका अनुसार महेन्द्र राजमार्गको सडक सीमा केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर कायम रहेको छ। उक्त क्षेत्रभित्र स्वीकृतिविना निर्माण गरिएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको उनले बताए।
कार्यालयका अनुसार सूचना जारी हुँदासमेत अतिक्रमित संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३०) बमोजिम हटाउने प्रक्रिया अघि बढाइनेछ। साथै, संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने व्यवस्था रहेको जनाइएको छ।
गड्डाचौकीदेखि चिसापानीसम्मको करिब १२६ किलोमिटर सडक खण्डअन्तर्गतका विभिन्न स्थानमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालय तथा अन्य संरचना निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको सडक विभागको भनाइ छ।
सडक विभागले राजमार्गको सुरक्षासहित सडक विस्तार तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन अतिक्रमित क्षेत्र खाली गराउन लागिएको जनाएको छ। विभागका अनुसार गड्डाचौकी–चिसापानी खण्डमा रहेको करिब ८० प्रतिशत अतिक्रमित जमिन खाली गराउने लक्ष्यसहित अभियान अघि बढाइएको हो।