काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर तथा निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको जनाएको छ ।
मिति २०८३ ज्येष्ठ २१ गते आयोजित एक कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए । उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, मिति २०८३ ज्येष्ठ २२ गते सम्पन्न अर्को कार्यक्रममा वीरगन्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर हस्तान्तरण गरेका थिए । साथै, सोही दिन सम्पन्न अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए ।
श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी विद्यार्थीहरु तथा श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
बैंकका अनुसार असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई सहारा प्रदान गरिरहेको हाम्रो साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट त्यहाँ आश्रित व्यक्तिहरुको दैनिक जीवन अझ सहज तथा स्वस्थकर बन्ने विश्वास लिइएको छ । साथै, सरकारी तथा सामुदायिक विद्यालयहरुलाई प्रदान गरिएका शैक्षिक सामग्रीहरुले डिजिटल सिकाइ अभ्यासलाई सुदृढ बनाउने, विद्यार्थी सहभागिता अभिवृद्धि गर्ने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।