टीकापुर । संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि सुदूरपश्चिमको टीकापुरमा सुरु हुँदैछ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेसहित संघीय संसद तथा प्रदेश सभाका पदाधिकारी धनगढी पुगेका छन्।
शनिबार बिहान ८ः३० बजे हुने उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा सभामुख अर्याल र अध्यक्ष दाहालले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि सम्बोधन गर्नेछन्।
सम्मेलनको बन्द सत्रमा संसदीय प्रणाली, कानुन निर्माण प्रक्रिया, संसदीय अनुगमन, डिजिटल संसद र बजेट निर्माणलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, सूचना प्रविधि विज्ञ विनित सत्याल, संविधानसभा सदस्य खिमलाल देवकोटा तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम छ।
कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, अन्तर-व्यवस्थापिका समन्वय, सभा सञ्चालनका असल अभ्यास तथा भावी कार्यदिशाबारे छलफल हुनेछ।
सम्मेलनको दोस्रो दिन ‘टीकापुर घोषणापत्र’को मस्यौदामाथि छलफल गरी सुझाव समेटेर पारित तथा हस्ताक्षर गरिनेछ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले घोषणापत्रको मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
आइतबार सम्मेलनको औपचारिक समापनसँगै ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गरिनेछ। सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न पत्रकार सम्मेलनसमेत आयोजना गरिएको छ।
सम्मेलनमा संघीय संसदका दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतक, समितिका सभापति, सचिव तथा अन्य पदाधिकारीहरूको सहभागिता रहनेछ।